मिति २०७७ साल जेष्ठ महिनाको २८ गते रातीको समयमा, नेपाल सरकार मन्त्री
परिषद्ले लगभग साढे दुई महिनादेखि चल्दै आएको लकडाउनलाई चरणबद्ध रुपमा खुकुलो
पार्ने निर्णय गर्यो। त्यस निर्णय अन्तरगत विगतमा बन्द रहँदै आएका व्यावार-व्यसाय तथा सेवा
सुविधाको प्रवाहालाई आवश्यक सावधानी अपनाएर सुचारु गर्न बाधाअवरोध नगर्ने निर्णय गर्यो।
सोहि निर्णय अन्तरगत निजी सवारी साधनहरुलाई जोर-विजोर प्रणालीमा सञ्चालन गर्नदिने निर्णय समेत गर्यो।
लकडाउन अवधि भरि सार्वजनिक सडकमा आमजनताको सुरक्षा
तथा लकडाउनको कार्यान्वयन तथा परिपालना गराउनका निम्ति ठूलो संख्यामा सुरक्षा निकायका
कर्मचारीहरु तैनाथ भए। लकडाउनको समयमा अहोरात्र खटिएर, भोक-प्यासको पर्वाह नगरी तैनाथ
रहेका प्रहरी कर्मचारीहरुले कोहिकसै अनावश्यक रुपमा, अत्यावश्य काम बिना आफ्नो बासस्थानबाट बाहिर निस्किएको
अवस्थामा आवश्यक कारवाही गर्ने गरे-गर्थिए। सायद लकडाउनको अवधिमा लागेको यहि बानीले गर्दाहोला, सरकारले लकडाउन खुकुलो
पार्ने निर्णय गरेको भोलिपल्ट (आजको दिन) पनि प्रहरी कर्मचारीहरुले बाटोमा आफ्नो सवारी साधनका साथ
नस्किएका जनसाधरणलाई रोकेर कारवाही गर्न छाडेनन्।
म स्वयम् पनि आज विहान आफ्नो मोटर साईकलमा आवश्यक
खाद्यान्न किनमेल गर्न निस्किएको थिएँ। लकडाउन खुकुलो पार्ने निर्णय भएसँगै, धेरै पछि म आफूले
नियमित रुपमा किनमेल गर्ने ठाउँ भन्दा अलि टाढा सम्म गएर किनमेल गर्न अघि सरे। मुल
सडकमा निस्कन पाउँदा नपाउँदै मेरो यात्रा सहायक निरीक्षकको नेतृत्वमा खटेको प्रहरी
टोलीद्वारा अवरुद्ध गरियो। मलाई तुरन्तै आफ्नो मोटरसाईकलबाट उत्रन भनियो, मैले आदेश भए बमोजिम
मेरो मोटरसाईकल रोकेँ र मलाई रोक्न निर्देशन दिनुहुने प्रहरी कर्मचारीलाई सोधेँ, (यस पश्चात प्रहरी
कर्मचारीहरुसँग भएको संवादको अंश)
“सर, मेरो मोटरसाईकल त विजोर छ त! किन रोक्नु भयो?”
“कहाँ जान लाग्नु भयो?”
“खाद्यान्न किनमेल गर्न।“
“आफ्नै घर वरपर नकिनि किन मुल सडक आउनु भयो खाद्यान्न किन्न? जोर-विजोर सँग सरोकार नै भएन नि! आफ्नो नाम टिपाउनुस् अनि
साँझ ७ बजे मोटरसाईकल लिन आउनुस्”
“(आफ्नो नाम र नम्बर टिपाउँदै) सर, हिजो राति मन्त्री परिषद्ले लकडाउन खुकुलो पार्ने निर्णय
गरेको थियो त!
विहान पत्रिकामा समेत समाचार आइसक्यो! मलाई किन यसरी रोक्नु हुँदैछ तपाईँहरु? अनावश्क काम होईन, खाद्यान्न पो किनमेल
गर्न जान आँटेको हुँ त!”
“तपाईँ ठूलो कुरा नगर्नुस्, त्यस्तो निर्णय भएपनि हामीलाई माथिबाट कारबाहि नरोक्नु
भन्ने निर्देशन छ! खुरुक्क
बाईक छोडेर आफ्नो बाटो लाग्नुस् साँझ लिनआउनुस्!”
केहि समय माथिल्लो दर्जाका प्रहरी कर्मचारी (निरीक्षक) सँग संवाद भएपछि
जताबाट आएको त्यतै फर्किने सर्तमा मलाई आफ्नो मोटरसाईकल सहित जान दिइयो। त्यस
ठाउँमा (जहाँ
मलाई रोकिएको थियो) म
जस्तै अरु १५-२० जना व्यक्तिहरुलाई
आफ्नो गन्तव्यमा जान नदिइ रोकेर राखिएको थियो। म त्यहाँ करीब ३० मिनेट रोकिनु
परेको थियो, अन्य
व्यक्तिहरुले १-२
घण्टादेखि रोकिएको भनेर गुनासो पोख्दै थिए। त्यँहा रोकिएर बसेका व्यक्तिहरु
अतिरिक्त करीब २०-२५
वटा अन्य मोटरसाईकलहरु समेत रोकेर राखिएको थियो।
मसँग घटेको घटना त प्रतिनिधि घटना मात्र हो, यो लेख लेख्दा सम्म आज
दिउँसो मात्र हजारौँको संख्यामा सवारीसाधन समातिएको समाचार आइसकेको छ। प्रस्तुत
विषयलाई नेपालमा विद्यमान कानूनी व्यवस्थाको चश्मा लगाएर हेर्ने हो भने निम्न
बमोजिमको परिदृश्य देख्न सक्छौँ,
प्रहरीले लकडाउनको समयमा सवारीसाधन तथा बटुवाहरुलाई गर्ने
गरेको कारवाहि कानूनी रुपमा फौजदारी कानून अन्तरगत गरिएको दण्डसजाय हो। लकडाउन
उल्लङ्घन गरेकोमा सजाय स्वरुप फौजदारी दायित्तव अन्तरगत सवारीसाधनलाई रोकेर राख्ने
तथा निश्चित समय पश्चात मात्र कारवाहि फुकुवा गर्ने गरिएको थियो। तर मन्त्री
परिषद्बाट लकडाउनलाई खुकुलो पार्ने निर्णय भएपश्चात पनि सवारीसाधनहरुलाई ‘माथिबाट निर्देशन आएको छ’ भनि दण्डसजायलाई
नियमितता दिनु भनेको, प्रहरी प्रशासनबाट विद्यमान कानूनी अवधारणाको घोर उल्लङ्घन
हो। हाल प्रचलित ‘नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१०’ को दफा ३(च) को प्रतिबन्धात्मक
वाक्यांशमा ‘कसैले कानून बनिसकेको तर त्यस कानून राजपत्रमा
प्रकाशन भईनसेको अवस्थामा साविकको कानूनले दण्डनीय मानेको तर नयाँ बनेको कानूनले
दण्डनीय नमानेको कार्य गरे तापनि त्यस्तो कार्यलाई लिएर कुनै दण्ड सजाय दिईने छैन’ भन्ने तात्पर्य रहेको
प्रावधान हामी पाउन सक्छौँ।
त्यस कारण प्रहरीबाट सवारीसाधनहरु विरुद्ध आज
भइरहेको कारवाही सामान्य दृष्टिबाट हेर्दा त अव्यवहारीक छँदै छ, कानूनी दृष्टिबाट
हेर्दा समेत गैरकानूनी छ। लकडाउनलाई खुकुलो पार्ने निर्णय भइसक्दा समेत कथित ‘माथिको निर्देशन’ लाई देखाउँदै जनतालाई
अनावश्यक असुविधा हुने कार्य गर्नु अन्यायपूर्ण हो। लकडाउनको समयमा अहोरात्र खटेर
हाम्रो सेवा गरेकोमा हामीले प्रहरी प्रशासन तथा प्रहरी क्मचारीहरुलाई धेरै धन्यवाद
दियौँ, अब भने हामीलाई
अनावश्य रुपमा दु:ख
नदिने पलो प्रहरी प्रशासनको हो।
अद्वैत
बराल
२०७७
साल जेष्ठ महिना २९ गते बिहिबार
छाउनी, काठमाण्डौँ